काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरे विवादमा परेकी छन्।
सामाजिक संजालमा नेपाल नर्सिङ काउन्सिलको परिक्षामा उतिर्ण गराइदिने भन्दै तीन लाखको बार्गेनिङ गर्दै गरेको भनिएको एक च्याट बाहिरिएसँगै घिमिरे विवादमा परेकी हुन्।
सामाजिक संजाल तथा विभिन्न अनलाइन पत्रीकाहरुमा घुस बार्गेनिङ गरेको भनिएको च्याट स्क्रिनसट भाइरल भएको छ। सार्वजनिक भएको च्याटमा काउन्सिलकी एक सदस्यले घुस बार्गेनिङ गर्दै घुस रकमको आधा रकम काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरलाई दिनुपर्ने उल्लेख गरेको देखिएको छ।
विन्दासँग सम्बन्ध राम्रो भएको उल्लेख गर्दै सदस्य जिता बरालले एक विद्यार्थीसँग घुस रकम बार्गेनिङ गरिरहेको सार्वजनिक स्क्रिनसटमा देख्न सकिन्छ। सार्वजनिक च्याटको स्क्रिनसटमा ती विद्यार्थीले जिताको नाममा २ लाख ५० हजार रूपैयाँ आइएमइ गरेर पठाएको उल्लेख गरेको देखिन्छ।
ती विद्यार्थीले च्याटका क्रममा रकम पठाएको आइएमइ नम्बर समेत खुलाएको देखिन्छ। च्याटमा उनले रकम पठाइदिएको ७१३४६७८९९७ डि र ७१२३८७६७५६ डी गरी दुई आइएमइ नम्बर समेत खुलाएको देखिन्छ।
गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनमा बराल काउन्सिलको सदस्यमा विजयी भएकी थिइन्। जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर विजयी भएको बताइन्छ। सार्वजनिक च्याट उक्त चुनाव भन्दा अगाडीको रहेको बताइएको छ।
जिता नेपाली कांग्रेस पार्टी निकट रहेकी छन् भने उनले उल्लेख गरेको विन्दा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती हुन्।