काठमाडौँ – चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण देशमा फैलिन नदिन कुवेतले सम्पूर्ण देशसँगको हवाई उडान माथि रोक लगाउने भएको छ।
शुक्रबार देखि लागू हुनेगरी कुवेतले सम्पूर्ण देशसँगको अन्तर्राष्ट्रिय आवतजावत बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमणले विश्वका देशहरुमा महामारीको रुप लिरहेको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण देशहरुसंगको अन्तर्राष्ट्रिय आवतजावत बन्द गर्ने निर्णय गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।
कुवेतको सरकारले गरेको निर्णय अनुसार कुवेतका नागरिक रहेका केही खाडी मुलुकसँगको उडान र अत्यावश्यक कार्गो उडान मात्रै बाहेक सम्पूर्ण उडान रोक्का हुनेछ। अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण आवतजावत बन्द गर्ने कुवेत सरकारको निर्णय छ।
यस्तै १५ दिनका लागि सार्वजनिक विदाको घोषणासमेत गरिएको छ। बिहिबार देखि नै लागू हुनेगरी त्यहाँको सरकारले १५ दिनका लागि सार्वजनिक विदाको घोषणा गरेको हो।
कोरोना भाइरस संक्रिमितको संख्या कुवेतमा अहिले सम्म ७२ पुगिसकेको बताइएको छ। बताइएअनुसार, ३ संक्रमितको संख्या गम्भीर छ भने २ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन्।
डब्लुएचओले भन्यो- ‘कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रुप लियो’
विश्वभरीनै कोरोना भाइरस (कोभिड-१९)को संक्रमणले आपतकालीन अवस्था सिर्जना गराएपछि विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको संक्रमणलाई महामारी घोषित गरेको छ। तीन महिनाअघि सुरू भएको यस कोरोना भाइरसबाट संसारभर हजारौं मानिस संक्रमित भएपछि, बुधबार विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको हो।
चीनको हुबेई प्रान्तको राजधानी वुहान सहरबाट शुरु भएको यस भाइरसको महामारी हाल १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ। तर विश्व स्वास्थ्य संगठनले, यो भाइरस नियन्त्रण गर्न सकिने खालको महामारी भएको कुरा उल्लेख गरेका छन्। प्रमाणस्वरुप चीनमा यसको संक्रमण नियन्त्रणमा आउँदै गरेको कुरालाई पनि अघि सारेको छ।
हालसम्म, संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने ज्यान जानेको संख्या भने ४ हजार ३ सय ८९ पुगेको छ। चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन् भने १०९ भन्दा बढी देशहरुमा कोरोना भाइरस पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यही आँकडालाई समेत आधार मान्दै विश्वव्यापी महामारीको घोषणा गरेको हो ।
जेनेभामा भएको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका डाइरेक्टर-जनरल डा. टेड्रोस अडानोम गब्रराइससले भने ‘गत दुई सातादेखि चीनबाहिर कोरोनाबाट संक्रमित हुनेको संख्या निकै बढेको छ। संक्रमित हुने देश तेब्बर भइसके,’आगामी दिनमा संक्रमित, मृतक र प्रभावित देशको संख्या अझै बढ्ने हाम्रो अनुमान छ।’
यो भाइरसको संक्रमित हुनेहरुमध्ये सबैभन्दा बढी, चीनमा ८० हजार ७ सय ९० रहेका छन् भने चीनपछि इटालीमा १० हजार १४९ जना र इरानमा ९ हजार रहेका छन्। त्यसै गरी दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जना, स्पेनमा २,१८८ जना, जर्मनीमा १ हजार ८ ५३ जना, फ्रान्समा १ हजार ७ सय ८४ जना र अमेरिकामा १ हजार १६ जना संक्रमित भइसकेका छन्।
१ हजारभन्दा कम संक्रमित हुने देशहरुमा स्वीट्जरल्याण्ड ६ सय ५२ जना, जापान ६ सय ३९ जना, नेदरल्याण्ड ५ सय ३ जना छन् भने पाँचसयभन्दा कम संक्रमित देखापरेका देशहरुमा डेनमार्क, मलेसिया, स्वीडेन, वेल्जियम, कतार, अस्ट्रेलिया, बहराइन सिंगापुर, अस्ट्रेलिया, नर्वे, बेलायत, हंगकंग छन् ।
भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन्।