घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ ।
लाग्छ, घुम्टे र गुराँस एक अर्काका पर्याय हुन् । गलकोटस्थित घुम्टे लेकको सौन्दर्य नासिन नदिन र पर्यावरण जोगाउन गाउँले लागिपरेका छन् । गुराँस संरक्षणमा जुटेका छन् । गुराँस मासे जोकोहीलाई कारवाही हुन्छ । जथाभावी गुराँस टिप्न पनि रोक लगाइएको छ । चरिचरनदेखि कटान नियन्त्रण गरिएको छ । “हाँगासमेत भाँच्न पाइँदैन, त्यस्तो गरेको भेटिएमा कारवाही हुन्छ”, घुम्टे–कौलेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर थापाले भने । घुम्टे लेकको पर्यटकीय आकर्षण टिकाउन गुराँस संरक्षणमा लाग्नुपरेको उनको भनाइ छ । चरन र काठ–दाउरा चोरीले गुराँस नासिन थालेपछि संरक्षण योजना ल्याइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए।
शुरुमा गाउँलेले सर्वपक्षीय भेला डाकी गुराँसको बोट, हाँगाबिँगा काट्न नपाइने निर्णय गरेका थिए । “विसं २०७० देखि नै गुराँस संरक्षणको प्रयास अगाडि बढाइएको हो”, उनले भने , “सामुदायिक वनसँगको सहकार्यमा हामीले पनि काम गरिरहेका छौँ ।” केन्द्रको पहलमा गत वर्षायाममा घुम्टे जाने पदमार्ग छेउछाउमा १५० गुराँसका बिरुवा रोपिएको उनको भनाइ छ ।
केन्द्रले गुराँसको बोटबिरुवा मासेको कहीँकतै भेटिए वन ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सामुदायिक वनलाई आग्रह गरेको छ । गुराँसको घना जङ्गल भने घुम्टेको राष्ट्रिय वन क्षेत्रमा छ । यसअघि पशुचौपायाको खुला चरनका कारण गुराँसको नयाँ बिरुवा हुर्कनै समस्या थियो ।
गुराँस संरक्षण अभियान चलेपछि स्वःस्फूर्तरुपमा काठ–दाउरा कटान र चरन रोकिएको स्थानीयवासी बताउँछन् । गुराँस बलियो काठ भएकाले फर्निचर, ठेकाठेकी, दाउरा र जडीबुटीजन्य औषधि बनाउनसमेत प्रयोग हुँदै आएको थियो ।
गलकोट नगरपालिका–५ टेउवादेखि शुरु हुने पदमार्गमा हिँडेदेखि नै गुराँसका बोट भेटिन थाल्छन् । जतिमाथि चढ्यो उति बाक्लो गुराँसे जङ्गल पुगिन्छ । भीमकाय रुखदेखि ससाना बोटमा ढकमक्क फुलेको गुराँसले पर्यटकलाई मोहित पार्छ । “ठ्याक्कै वैज्ञानिक अध्ययन त भएको छैन, तर घुम्टेमा दर्जन प्रजातिमा गुराँस भएको अनुमान छ”, सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष राज थापाले भने, “पर्यटक लोभ्याउने गुराँसको संरक्षणमा सबैको साथ चाहिन्छ ।” सामुदायिक वन र पर्यटन विकास केन्द्रले गुराँसको बोट संरक्षण गर्ने, नयाँ बिरुवा रोप्ने र गुराँसको महत्वबारे जनचेतना बढाउने कामसमेत गर्दै आएका छन् ।
कतिपयले जिल्लामा गुराँसको सबैभन्दा ठूलो वन क्षेत्र घुम्टेमै रहेको जिकिर गर्छन् । गुराँस फुल्ने याममा घुम्टे चढ्ने पर्यटकको सङ्ख्या उल्लेख्य हुन्छ । पर्यटन विकास केन्द्रले विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा घुम्टेमै ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ ।
घुम्टेको पर्यटन प्रवद्र्धन र गुराँस संरक्षणको लागि उत्सव आयोजना गर्ने गरिएको केन्द्रका अध्यक्ष बस्नेतले बताए । केन्द्रले घुम्टेलाई
‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय गुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । गुराँस उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’लगायतका कार्यक्रम गरिन्छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।