एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड–नाइन्टीनको संक्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन्। यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
टेलिभिजन सम्बोधनमार्फत उनले सो घोषणा गरेका हुन् । उक्त नियम ब्रिटेनका लागि भने लागु हुने छैन। उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ। औषधी र किराना पसल खुला रहने छन्
युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा संक्रमितहरू र मृतकको संख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब नौ सयजना संक्रमितहरू सघन उपचार कक्षमा भर्ना गरिएका छन्।
उनले इरान र इटलीले अहिले बेहोरिरहेको संकटको जस्तो स्थितिको सामना छिट्टै अन्य देशहरूले पनि गर्नुपर्ने चेतावनी दिए।
यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनेको घोषणा गरेको छ। डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर संक्रमण १३ गुणा बढेको बताए।
उनले त्यसलाई संक्रमणको खतरनाक तह भन्दै त्यसले आफूलाई गम्भीर रूपले चिन्तित तुल्याएको उल्लेख गरेका छन्।