विराटनगर – आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।
यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन रु ३० लाख चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । छोराको मायाले बुबा शिवनारायणले रु २१ लाख फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।
फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो । प्रहरीले कृष्णबाट नगद रु १६ लाख ५३ हजार र रु तीन लाखको चेक पनि बरामद गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
यसैगरी प्रहरीले मोरङको बेलबारी नगरपालिका–८ निवासी २९ वर्षीय कमानसिंह राईलाई खैरो हिरोइन १५ ग्रामसहित पक्राउ गरेको छ । भारतको जोगबनी हुँदै नेपाल रानी प्रवेश गर्ने क्रममा फागनु २५ गते प्रहरीलाई शङ्का लागेपछि खोजतलास गर्दा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बजार मूल्यअनुसार सो हिरोइन करीब रु ५० हजारको हो । प्रतिडोज सेवनकर्ताले रु एक हजारका दरले खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । निज राईलाई प्रहरीले लागुऔषध ओसारपसार गरेको अभियोगमा कारवाही गर्ने भएको छ ।