यस वर्षको सुरुवात देखिनै कुम्भ राशिका गुरु, शनि व्यय भावमा अवस्थित छन्। शनि आफ्नै राशिमा भएता पनि यस राशिका व्यक्तिहरुले कडा संघर्ष पछि मात्र वित्तीय लाभ प्राप्त गर्नेछन्। परिणाम स्वरुप, यस वर्ष आर्थिक संकटको पनि सामना गर्नुपर्ला।
यस वर्ष वृहस्पति पनि यस राशिमा गोचार गर्नाले शनि, मंगल र वृहस्पतिका युतिले यस राशिका व्यक्तिको परीक्षा लिन सक्ला। अतः यस वर्ष निकै सावधानी अपनाउनु पर्ने देखिन्छ। आफ्नो जिम्मेवारी निभाउन कठिन् महसुस होला, धैर्यका साथ काम गर्नुहोला।
यस वर्ष, शुक्रको गोचर तुलनात्मक रूपमा निकै राम्रो हुनेछ। जसका कारण, साहस र पराक्रममा वृद्धि हुनेछ। यदि तपाई महिला भए पुरुष र पुरुष भए महिलाले तपाईंको कार्यक्षेत्रमा निकै सहयोग पुर्याउने देखिन्छ। कैयौँ समयदेखि रोकिएको कामहरु बन्ने छ। नयाँ मानिसहरूसंग मेलजोल बढ्नेछ। विदेश यात्राका लागि पनि शुभ संयोग बन्नेछ।
असार मसान्तदेखि वृहस्पतिको शुभ गोचरले शिक्षा तथा प्रतिस्पर्धामा राम्रो सफलता दिलाउनेछ। यदि प्रेम विवाह गर्ने सोचमा हुनुहुन्छ भने यो योग निकै उपयुक्त हुनेछ। नयाँ जोडीका लागी सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि राम्रो योग बनिरहेको देखिन्छ।
सुरुवातमा राहु र केतुको गोचर, यस राशिका व्यक्तिलाई मानसिक रूपमा सताउन सक्ला। पारिवारिक कलह र स्वास्थ्यमा पनि प्रतिकूल असर पार्न सक्छ। त्यसैले, यस वर्ष प्रत्येक कार्य वा निर्णय लिदा होसियारीका साथ सावधानीपूर्वक लिनुहोला।