चीनका राष्ट्रपति ‘सी चिन फिङ’ आज हुवेई प्रान्तको वुहान सहरमा पुगेका छन्। चिनियाँ राष्ट्रपति मंगलबार बिहान वुहान सहरमा पुगेको ‘पिपुल्स डेली’ले जानकारी दिएको छ।
उनको आज वुहानस्थित कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, सैनिक कमाण्डर, पार्टीका अधिकारीलगायतका व्यक्तिहरुसंग छलफलको कार्यक्रम रहेको छ। वुहानमा कोरोना भाइरस देखिन थालेपछी उनी पहिलो पटक त्यस सहरमा पुगाका हुन्।
वुहान सहरमा डिसेम्बरको अन्तिम सातादेखि कोरोना भाइरस देखिन थालेको हो। कोरोना भाइरसबाट ग्रसित चीनले पछिल्ला समयमा भने भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ।
एक महिना अघिसम्म मात्र पनि चीनमा कोरोनाको संक्रमण दर दिनमा दुई गुणा र रातमा चौगुणाको हिसाबले बढिरहेको थियो। फेब्रुअरी ४ तारिकमा मात्रै ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए।
तर, ‘साउथ चाइना मर्निङ पोष्ट’का अनुसार, सोमबारको दिन चीनमा जम्मा १९ जनामा मात्र कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ। त्यस, १९ जनामा मात्र १७ जनालाई चीन भित्र संक्रमण भएको खुलाशा भएको छ। बाकी २ जनालाई भने विदेशबाट नै संक्रमित भएर आएका थिए।
संक्रमित भएका १७ जना चिनियाँ नागरिकहरु कोरोना भाइरसको उदगम हुवेई प्रान्तका नागरिक हुन्। साथै, ३ दिन देखि चीनमा वुहान सहरबाहिर कसैलाई कोरोना भाइरस संक्रमण भएको भने पाइएको छैन।
एक महिनामानै चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न ठुलो सफलता प्राप्त गरेता पनि संसारभर कोरोना भाइरसको त्रास झन् झन् फैलिरहेको छ । यस खतरनाक भाइरसको चीनमा ८० हजार भन्दा बढी संक्रमित छन् । यस्तै विश्वभर १ लाख भन्दा बढी संख्यामा यस भाइरस संक्रमित छन्। दक्षिण एशियाली राष्ट्र मध्य सबै भन्दा धेरै भारतमा ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कोरोनाको कारण अहिलेसम्म ३५०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, भने नेपालमा भने अहिलेसम्म यो भाइरस देखा परेको छैन । तर, उच्च जोखिम युक्त क्षेत्र भएको कारण सावधानी अपनाउनु भने जरूरी छ।