काठमाडौँ – संसारभर त्रास फैलाईरहेको कोरोना भाइरसको संक्रमण दक्षिण एशियाली राष्ट्रहरु बंगलादेश र माल्दिभ्समा पनि देखा परेको छ ।
बंगलादेशमा तीन जनामा यो भाइरसको संक्रमण देखिएको हो । त्यहाँ दुई पुरुष र एक महिलामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ। उनीहरु मध्य दुई जना इटालीबाट फर्केको भनिएको छ ।
यस्तै, माल्दिभ्समा पनि यस भाइरसको संक्रमण फेला परेको छ । माल्दिभ्समा चार जनामा कोरोनाको संक्रमण रहेको त्यहाँका अनलाइन मध्यमहरुले जनाएका छन् । सान्डीज रिपोर्टका अनुसार त्यहाँ थप दुई जनामा पनि कोरोनाको संक्रमण देखा परेसँगै संक्रमितको संख्या चार पुगेको छ ।
यसअघि कुरेदु टापु रिसोर्टका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको, त्यहाँका स्वास्थ्य मन्त्री अब्दुल्ला आमेनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।
संसारभर कोरोना भाइरसको त्रास फैलिरहेको छ । यस खतरनाक भाइरसको चीनमा ८० हजार भन्दा बढी संक्रमित छन् । यस्तै विश्वभर १ लाख भन्दा बढी संख्यामा यस भाइरस संक्रमित छन्। दक्षिण एशियाली राष्ट्र मध्य सबै भन्दा धेरै भारतमा ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कोरोनाको कारण अहिलेसम्म ३५०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, भने नेपालमा भने अहिलेसम्म यो भाइरस देखा परेको छैन । तर, उच्च जोखिम युक्त क्षेत्र भएको कारण सावधानी अपनाउनु भने जरूरी छ।