काठमाडौँ – होलीको नाममा विभिन्न प्रकारका उच्छृंखल गतिविधि गर्ने २५ जनालाई प्रजरिले उपत्यकाको विभिन्न ठाउँबाट हिरासतमा लिएको छ । पक्राउ पर्नेमा २२ जना पुरुष तथा ३ जना महिला रहेका छन् ।
पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटी लगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको काठमाडौँ प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटिले जानकारी दिए । यस्तै सवारी नियम पालना नगर्ने ५२ वटा २ पांग्रे सवारी साधन र एक कारलाई पनि नियन्त्रणमा लिइएको डिएसपी बोगटिले जनाए ।
प्रहरीका अनुसार भक्तपुर र ललितपुरबाट भने अहिलेसम्म कोहि पनि पक्राउ परेका छैनन् । भक्तपुर क्षेत्रबाट त्यस्तो उच्छृंखल गतिविधि गरेको फेला नपरेको र कोहि पनि पक्राउ नभएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताएका छन् भने, ललितपुर प्रहरीबाट पनि आफ्नो मातहत रहेको स्थानमा शान्तिपूर्ण रूपमा होली खेलिरहेको जानकारी आएको छ ।
गत वर्षको तुलनामा यो वर्ष होली खेल्नेको संख्या निकै कम रहेको छ । संसारभर फैलिरहेको कोरोना भाइरसको त्रासको कारण पछिल्लो वर्ष निकै भिड भाड हुने स्थानहरुमा पनि यो साल सुनसान रहेको छ ।