आफुमाथि ५ लाख ठगिको आरोप लागेपछि अनमोलले खोले मुख, दिए यस्तो स्पष्टिकरण!

काठमाडौँ, फागुन २५ । चर्चित नायक अनमोल केसीविरुद्ध  एक साता अगाडी  ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो । चलचित्र साइन गरी एडभान्स स्वरूप ५ लाख रुपैयाँ समेत लिएर चलचित्र नखेलेको भन्दै उनी विरुद्ध जयन श्रेष्ठ र रुपेश खड्कीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको बताइएको थियो।

अनमोल विरुद्ध उजुरी परेको करिब एक सातापछि उनले सामाजिक संजालमार्फत यस कुराको स्पष्टिकरण दिएका छन्। उनि लेख्छन्:

म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र “ए मेरो हजुर ४” सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनेर स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।

करीब ३,४ महिना पहिला “धुपौरो” नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ? तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु ।

अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ । मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।”

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न केसीले ५ लाख एडभान्स लिएका थिए। तर विभिन्न कारण देखाउँदै चलचित्रबाट केसी बाहिरिएको भन्दै चलचित्र निर्माण पक्षले उजुरी दिएका थिए।  उजुरी दिने श्रेष्ठ र खड्की फिल्मका निर्माता हुन्।

केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेको र सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि फिल्म नखेलेर ठगी गरेको भन्दी उजुरी परेको थियो।

चलचित्रकै लागि जिम तथा एक्टिङ क्लासका नाममा अनमोलले आफूहरुको थप २ लाख ५० खर्च गराएको समेत उजुरीकर्ताहरुको आरोप लगाएका थिए। चलचित्रका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाएर केसी सम्पर्कमा नआएपछि उजुरी गर्न आफूहरु बाध्य भएको उजुरीकर्ताहरुले बताएका थिए।

प्रकाशित : , ०, ०१२:०८

टुकुचाका ‘घाँसे दिदी…’