काठमाडौँ- कोरोना भाइरसको प्रकोप बढ्दो छ । विश्वभर लाखौँको संख्यामा यस भाइरसको संक्रमित छन् भने ८० हजारभन्दा बढीको त ज्यान गैसकेको छ । यस्तै नेपालमा पनि यो भाइरसको खतरा उच्च रहेको विश्व स्वास्थ संगठन (डब्लु.एच.वो) ले जनाइसकेको छ ।
यस्तोमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै कैलालीस्थित धनगढी नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन्। धनगढी उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म फागुण २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गर्न आदेश दिएको छ । नगर प्रमुख नृपबहादुर वडले विज्ञप्ति जारी गर्दै यस्तो सूचना दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नोबेल कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन फैलिँदै गएकोले सो अवस्थाबाट जोगिन शिक्षा सरोकारलासँगको मिति २०७६ साल फागुन २३ गते बसेको बैठकको निर्णयअनुसार यस धनगढी उपमहानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभूत तह अन्तिम परीक्षा तथा विद्यालयहरुको आन्तारिक वार्षिक परीक्षा र विद्यालयको सम्पूर्ण पठनपाठनका क्रियाकलापहरु अर्को सूचना जारी नभएसम्मका लागि मिति २०७६ साल फागुण २५ गतेदेखि लागू हुनेगरी बन्द गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
कोरोना भाइरसले गत केहि महिनादेखि संसार भर त्रास फैलाएको छ । थुप्रै वैज्ञानिकहरु यसको उपचारको खोजीमा भएपनि अहिले सम्म यसको औशधि उपचार पत्ता लाग्न सकेको छैन। यस्तोमा सबै सावधान रहन सरकारले आग्रह गरेको छ ।