काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग गरेकी छन्। कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न उनले माग गरेकी हुन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौं विद्यार्थी विद्यालय र क्याम्पस गइरहेकोले हुँदा कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग गरिन्।
जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भनेर सर्कुलर जारी गरिरहँदा विद्यालय जाने लाखौँ बालबालिकाहरू तर्फ सरकारले ध्यान नदिएको उनले आरोप लगाइन्।
“जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भनेर सर्कुलर गरेको परिपत्रहरू हामी पढ्न पायौँ। एकातिर जिल्ला प्रशासनले सर्कुलर गरेको छ भने अर्काेतिर हाम्रा लाखौँ बालबालिकाहरू स्कुल जानलाई बाध्य भइराखेका छन्। चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने भनेर पनि अर्काेतर्फ सूचना आइरहेको छ। सभामुखज्यूमार्फत सरकारलाई तत्कालै स्कुलहरू पनि बन्द गर्ने निर्देशन दिन आग्रह गर्दछु।”,उनले भनिन्।