मास्क लुकाउने र महँगोमा बेच्नेलाई कडा कारवाही, ११३७ मा फोन गरेर उजुरी गर्न आग्रह !

काठमाडौँ – मास्क महँगोमा बेच्ने र लुकाउनेलाई कारवाही गरिने भएको छ। कोरोना भाइरस संक्रमणको त्रासका कारण सर्वसाधारण आत्तिएका बेला मौका चोपले व्यवसायी माथि कारवाही गरिने भएको हो।

मास्क लुकाउने र महँगोमा बेच्नेहरुलाई कारवाही गर्ने सरकारले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार मस्क लुकाउने र महँगोमा बेच्नेहरुलाई तीन लाख रुपैयाँसम्म जरिबाना तिराइने र मुद्दा चलाइनेछ।

मास्क महँगोमा बेचेको वा लुकाएको थाहा पाए ११३७ नम्बरमा फोन गरेर जानकारी गराउन सरकारले आग्रह गरेको छ। बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि सरकारले यस्तो व्यवस्था गरेको हो। यस नम्बरमा फोन गरेर उजुरी गर्दा पैसा नलाग्ने बताइएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार गएकाे मङ्गलबारदेखि बजारमा अनुगमन गरी मास्क लुकाउने र बढी मूल्यमा बेच्नेलाई कारवाही गर्न थालिएको हो।

महँगोमा मास्क बेच्ने र लुकाउने केहि सप्लायर्स तथा व्यवसायीहरुलाई विभागले कारवाही गरिसकेको छ। बुधबार काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराइएको थियो। सप्लायर्सले मास्क लुकाउने काम गरेको थाहा भएसँगै विभागले यस्तो कारवाही गरेको हो।

यस्तै बिलबिना नै महँगोमा मास्क बेच्ने अन्य सप्लायर्स तथा फर्मलाई समेत कारवाही गरिएको विभागको भनाई छ। विभागले केहि फर्मलाई सचेत समेत गराएको थियो। विभागले बिहिबार पनि अनुगमन जारी राखेको छ।

प्रकाशित : , ०, ००८:०५

अब बैंकमा सुन राख्दा पनि ब्याज पाइने !