काठमाडौँ – चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको अवस्था छ। कोरोनाका कारण विश्वभरमा अहिले सम्म ३ हजार २ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
कोरोनाको त्रास बढेसँगै अहिले हात मिलाउने भन्दा पनि नमस्ते गर्ने अभियानले नेपालमा ठाउँ पाएको छ। चिकित्सकहरुले हात नमिलाई नमस्ते गर्न सुझाव दिरहेका छन्।
नेपालमा जस्तै इजरायलमा पनि नमस्ते गर्ने अभियानले ठाउँ पाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोरोना भाइरस फैलिएपछि हात मिलाउँदा संक्रमणको जोखिम हुने भन्दै नमस्ते गर्न आफ्ना नागरिकहरुलाई सुझाएका छन्। नेतन्याहुले आफ्ना नागरिकहरुलाई आफ्ना नागरिकलाई हात नमिलाई नमस्ते गर्न आग्रह गरेका हुन्।
देशवासीमा नाममा गरेको सम्बोधनका क्रममा नेतन्याहुले कोरोना संक्रमणबाट बच्नको लागि सबै भन्दा पहिला हात मिलाउन छाड्नु पर्ने बताए। उनका अनुसार सबै भन्दा पहिला एक-अर्कालाई छुने कार्य बन्द गर्नुपर्ने उनको भनाई थियो।
“मैले गरेझैं हात मिलाउने कार्य रोक्नुहोस्। हात नमिलाई नमस्ते गर्न सकिन्छ। जे-जस्तो तरिका अपनाएपनि सकेसम्म एक-अर्कालाई नछुऔं”,उनले भनेका थिए।
सम्बोधन गर्नेक्रममा उनले नमस्ते गर्ने तरिका समेत सिकाएका थिए। दुई हात जोड्दै उनले नमस्ते गरेर स्वागत गर्न सकिने उदाहरण सम्बोधनकै क्रममा प्रस्तुत गरेका थिए।