नवलपुर – गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् । नगरपालिकाको आज सम्पन्न छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो ।
जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले केही राहत मिलोस् भनेर समिति बनाएर सुविधा उपलब्ध गराउने तयारी गरिएको भए पनि नगरसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको नगरप्रमुख पौडेलले बताए । त्यस्तै सो नगरसभाले लेखा, सुशासन र विधेयक समिति गठन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।
त्यस्तै नगरप्रमुख पौडेलले सभामा प्रस्तुत गरेको गैँडाकोट नगर शिक्षा विधेयक २०७६ अस्वीकृत भएको उनले जानकारी दिए। नगरमा आर्थिक पारदर्शिता राख्न, सुशासन कायम गर्न तथा आवश्यक विधान बनाउनका लागि निर्माण गरिएको समिति नगरसभाले खारेजी गरेको प्रति नगरप्रमुखले दुःख व्यक्त गरे। त्यस्तै शिक्षा सर्वसुलभ होस् भनेर ल्याइएको विधेयक अस्वीकृत भएको पौडेलको भनाइ छ ।
नगर उपप्रमुख विष्णुकुमारी कँडेलले काँग्रेसका मान्छे समितिमा नराखिएको भन्दै आफूहरुले नगरसभाबाट सबै प्रस्ताव अस्वीकृत गरेको बताए । नगरसभामा काँग्रेसको दुई तिहाइ भएको अवस्थामा नगरप्रमुखले बनाएको समितिमा काँग्रेस निकटका मान्छे नभएकाले प्रस्ताव अस्वीकृत गरिएको उनको भनाइ छ ।
नगर प्रमुख पौडेलले भने समितिमा काँग्रेस, नेकपा र जनमोर्चाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई राखिएको बताए । गैँडाकोटको २८ सदस्यीय नगर कार्यपालिकामा १८ जना काँग्रेसबाट छन् भने ९३ सदस्यीय नगरसभामा ६८ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।