काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण नेपालकै चिकित्सकहरुले सफल गराएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकहरुको टोलिले ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल गराएका हुन्।
अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण सफल गराएका थिए। मिर्गौला प्रत्यारोण सफल गराउनका लागि भारतबाट दुई वरिष्ठ चिकित्सक नेपाल मगाइएपनि नेपालकै चिकत्सकहरुले ओलीको मिर्गौला प्रत्यारोपण सफल गराएको बताइएको छ।
त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली ११ औं व्यक्ति बनेका छन्। यस भन्दा अगाडी त्रिवि शिक्षण अस्पतालमा १० जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिसकिएको थियो।
बुधबार ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण गरिएसँगै त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेको संख्या ११ पुगेको छ। हालसम्म भएका सम्पूर्ण दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएको बताइएको छ।
ओलीको प्रत्यारोपण सफल भएसँगै अस्पतालले दोस्रोपटकको मिर्गौला प्रत्यारोपणमा हँसिल गर्दै आएको सतप्रतिशत सफलताले निरन्तरता पाएको छ। स्वदेशमा विदेशको सरह गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाली चिकित्सकहरु सफल भएको भन्दै प्रत्यारोपणमा संलगन चिकित्सकहरुको अहिले चर्चा भैरहेको छ।
ओलीको होस खुल्यो
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलिसकेको छ। त्रिवि शिक्षण अस्पतालले मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले संक्षिप्त पत्रकार सम्मेलन गर्दै ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी गराएका छन्। प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको उनले जानकारी दिएका छन्।
खड्गाले मिर्गाैला दान गरेकी ओलीकी भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। हाल दुवैलाई पोस्ट अपरेटिभ वार्डमा राखिएको छ।