काठमाडौँ – कोरोना भाइरसको संक्रमणका कारण चीनबाट आयात रोकिएसँगै ह्वातै बढेको लसुनको मूल्यमा भारी गिरावट आएको छ। भारतबाट सहज रुपमा लसुन आयात हुन थालेसँगै लसुनको मूल्यमा भारी गिरावट हो।
अहिले लसुनको मूल्य १३० भन्दा बढी प्रतिशतले घटेको छ। केहि समय अगाडी ८०० रूपैयाँ प्रतिकेजी सम्म पुगेको लसुनको मूल्य ३५० रूपैयाँ प्रतिकेजी भन्दा पनि तल झरेको छ।
आज भारतीय सुकेको लसुनको खुद्रा मूल्य प्रतिकेजी ३४५ रूपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यो गिरावट १३० प्रतिशत भन्दा बढी हुन आउँछ।
यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारतीय लसुनको थोक मूल्य २८० रूपैयाँ छ। भारतीय लसुनको आयातले लसुनको मूल्य घटेको समितिको दावी छ।
भारतीय लसुन सस्तोमा पाइन थालेपछि अहिले बजारमा चिनियाँ लसुनको माग घटेको छ। यधपी अहिले बजारमा व्यापारीहरुले भारतीय लसुनलाई नेपाली भन्दै बेच्दै आएका छन्।
भारतीय लसुन बजारमा पर्याप्त मात्रामा पाइएता पनि अहिले चिनियाँ लसुनको थोक मूल्य ४१० र खुद्रा मूल्य ४६० रूपैयाँ प्रतिकेजी रहेको छ। अहिले समुद्रमार्ग हुँदै चिनियाँ लसुन पनि आइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको भनाई छ।