जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको ह-त्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उक्त अदालतले अजिताको ह-त्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा–१४ बस्ने २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौँडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौँडा–४ का घनटाउके भनिने सुशील थापामगर र सोनम गोलेलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।
आज जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलाशलले उक्त आदेश दिएको हो । गत माघ ४ गते बिहान हेटौँडा–५ क्याम्पाडाँडामा भुजेलको शव फेला परेको थियो । मृत फेला पर्नुभएकी भुजेललाई रकम लेनदेनको विवादको कारण आरोपीतले तारले घाँटी च्यापेर ह-त्या गरेको प्रहरीसँग साविती बयान दिएका थिए ।
यसैगरी जिल्ला अदालतले हेटौँडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई ह-त्याको आरोपमा रु एक लाख धरौटीमा लिई रिहा गर्न आदेश दिएको थियो । तर एलिशाले तत्काल रु एक लाख धरौटी बुझाउन नसकेपछि उनलाई चितवन जिल्ला कारागारमा थुनामा राख्न चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार केशवराज कौशिकले बताउनुभयो ।