विश्व स्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिममा रहेको भनिसकेको हुँदा बेलैमा सचेत बन्न आग्रह !

पोखरा – गण्डकी प्रदेशसभाका सदस्यहरूले कोरना भाइरसको सङ्क्रमणप्रति बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आजको बैठकमा शून्य तथा विशेष समयमा बोल्दै अधिकांश सदस्यले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई उच्च जोखिममा रहेको भनिसकेको अवस्थामा सम्भाव्य जोखिमप्रति बेलैमा सचेत बन्न आग्रह गरे ।

बैठकमा प्रदेशसभा सदस्य धनमाया पोखरेल (लामा)ले विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा रहेको भन्दै नेपाललाई उल्लेख गरेका अवस्थामा विमानस्थलको कोरोना ‘सहायता कक्ष’ प्रभावकारी नभएको बताए। विश्वव्यापी नै हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै घोषित भ्रमण वर्षका कार्यक्रम स्थगित गर्दै कोरोना भाइरस र यसले पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नेतर्फ लाग्न उनले सुझाव दिए।

अर्का सदस्य मेखलाल श्रेष्ठले लम्जुङको याङ्दी खोला जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ आठ जना कर्मचारी विमानस्थलमा बिनारोकटोक नेपाल आएर काममा लागी सकेको बताउँदै रोग फैलिसकेका अवस्थामा उनीहरूलाई क्वारेन्टाइनमा राख्नपर्ने वा नपर्नेबारे सरकार बेखबर बन्न नहुने बताए। प्रदेशवासीलाई सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक सम्पूर्ण तयारी गर्न उनले सरकारसँग माग गरे।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोना भाइरसका कारण पोखरामा ८० प्रतिशत पर्यटक घटेको बताउँदै यसका कारण पर्यटन व्यवसायी ठूलो मारमा परेको बताए। दैनिक उपभोग्य समानको मूल्य पनि आकाशिएको बताउँदै उनले यस्तो अवस्थामा सरकारले विशेष आर्थिक राहतका प्याकेज ल्याउनुपर्ने उल्लेख गरे।

प्रदेशसभा सदस्य कृष्ण थापाले गण्डकी ‘काउ फर्म रिसर्च सेन्टर’लाई रु ११ करोड शेयर खरिदका लागि लगानी गर्न लागिएको प्रति ध्यानाकर्षण गराए। प्रदेशसभा सदस्य आशा कोइराला, चन्द्रमोहन गौचन, राजीव पहारी, विष्णुप्रसाद लामिछाने, कृष्णबहादुर थापालगायतले समसामयिक विषयमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराए।

बैठकमा प्रदेशसभा सदस्यहरूले यसअघिका बैठकमा उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था तथा सहकारीमन्त्री लेखबहादुर थापाले गण्डकी काउ फर्म रिसर्च सेन्टरलाई शेयर खरिदका लागि गरिएको लगानीप्रति शङ्का नगर्न आग्रह गरे। भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधारका क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराए।

आजको बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य कृष्णचन्द्र नेपालीले वातावरण संरक्षण गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा प्रस्तुत गरे। बैठकमा सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले समितिको वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गरे। अर्को बैठक आगामी फागुन २८ गते दिनको ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए।

प्रकाशित : , ०, ०१५:१५

तुलसीपुर विकासमा सडक विस्तारका लागि आफैँ घर भत्काउँदै टोलका बासिन्दा