काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव हार्दैमा नेताहरुलाई अयोग्य भन्न नमिल्ने बताएका छन्।
सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले चुनाव हार्दैमा कुनै पनि नेतालाई अयोग्य भन्न नमिल्ने तर्क गरेका हुन्। नारायणकाजी श्रेष्ठ, वामदेव गौतम जस्ता व्यक्तिहरुलाई संसदमा पठाउँदा राष्ट्रियसभाकै इज्जत बढ्ने पनि उनले दावी गरे।
“नारायणकाजी श्रेष्ठ, वामदेव गौतम जस्ता मान्छे संसदमा पठाउँदा राष्ट्रियसभाको इज्जत बढ्छ । चुनाव हार्दैमा उनलाई अयोग्य भन्न मिल्दैन।”,प्रचण्डले भने।
यस्तै प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने पनि बताए। नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने स्पष्ट पारे।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे । आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो । उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्याए ।
अध्यक्ष दाहाल आजदेखि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सुकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार सुकुटे पुगेका हुन् ।