काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तामा पुगेपछि कम्युनिस्टहरु विचलित हुने गरेको बताएका छन्।
कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट पछि हट्ने गरेको उदाहरण विश्व राजनीतिक इतिहासमा देखिएको उल्लेख गर्दै प्रचण्डले त्यस्तै नियति नेपालमा देखिन लागेको बताए।
शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले क्रान्तिमा हुँदा कम्युनिस्टहरुले निकै ठुलो त्याग, तपस्या र बलिदान गर्ने भएता पनि सत्ता प्राप्त गरिसकेपछि भने त्यसो नहुने गरेको भन्दै चिन्ता व्यक्त गरे।
“सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन्।”,उनले भने,”सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।”
सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलापहरु संलग्नता रहने गरेको भन्दै प्रचण्डले गल्ती, कमजोरी करेक्सन गर्ने, गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने तर्फ पार्टी अगाडी बढ्नु पर्नेमा जोड दिए।
पछिल्लो समय नेपालका कम्युनिष्ट नेताहरुमा चरित्रप्रति बारे टिप्पणी प्रचण्डले नेकपा भित्र पनि वैचारिक निष्ठाबाट विचलित भएर नेताहरु पतन हुने तर्फ अगाडी बढेको संकेत गरे।