काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री समक्ष राजिनामा दिएको जानकारी गराएका छन्। बास्कोटाले सामाजिक संजाल मार्फत नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गरेका हुन्।
“मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।”,राजिनामा बारे जानकारी दिँदै बास्कोटाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्। सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बास्कोटाले राजिनामा दिएका हुन्।
यसअघि बास्कोटाले राजिनामा दिएको बारे संसदमा सभामुख अग्नि सापकोटाले जानकारी गराएका थिए। राजिनामा दिएका बारे आधिकारीक पत्र प्राप्त नभएता पनि सम्बन्धित मन्त्रीले राजिनामा दिसकेको सापकोटाले संसदलाई जानकारी गराएका थिए। सभामुखले राजिनामा बारे जानकारी दिएपनि संसद चल्न भने सकेन।
सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा भएसँगै अहिले नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ।
‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियोनै सार्वजनिक भएपछि सर्वत्र विरोध भैरहेको छ।