काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो-कोहिलाई पनि नछाड्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को लोकापर्ण गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टचार गर्ने आफू नजिकका व्यक्तिहरुलाई पनि नछाड्ने बताए।
आफू भ्रष्टाचार अन्त्य र सुशासनको अभियानमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्टमका लागि नजिक र टाढाका कसैलाई नछाड्ने स्पष्ट पारे।
“सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ”,पुस्तक लोकापर्ण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएकै दिन प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आउनुलाई महत्वका साथ हेरिएको छ।
बिहिबार बिहान सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भएसँगै बास्कोटा माथि तत्काल अनुसन्धान हुनुपर्ने सर्वत्र माग उठिरहेको छ। यसबीच प्रधानमन्त्रीको अभिव्यक्ति बास्कोटा प्रति लक्षित भएको अनुमान गरिएको छ।