काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजिनामा दिएका छन्।
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बास्कोटाले राजिनामा दिएका हुन्। राजिनामाबारे बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी गराएका छन्।
राजिनामा दिएका बारे आधिकारीक पत्र प्राप्त नभएता पनि सम्बन्धित मन्त्रीले राजिनामा दिसकेको सापकोटाले संसदलाई जानकारी गराए। कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्न खोजेपछि सापकोटाले सम्बन्धित मन्त्रीले राजिनामा दिसकेको जानकारी दिँदै संसद अवरुद्ध नगर्न आग्रह गरेका गरे।
सापकोटाले राजिनामा बारे जानकारी गराएता पनि कांग्रेस सांसदहरुले अवरोध कायमै राखेपछि बिहिबारको प्रतिनिधि सभा कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।
सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा भएसँगै अहिले नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ।
‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियोनै सार्वजनिक भएपछि सर्वत्र विरोध भैरहेको छ।