एजेन्सी – अष्ट्रेलियामा दुईवटा विमान एकआपसमा जुध्दा विमानमा सवार सम्पूर्णको ज्यान गएको छ।
अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको ज्यान गएको हो।
प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् ।
घटना बारे नागरिक उड्डयन सुरक्षा प्राधिकरण र अष्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोलाई जानकारी भैसकेको भिक्टोरिया पुलिसले जनाएको छ। उसका अनुसार दुईजनाको घटनास्थलमै ज्यान गएको हो भने अन्य दुईको अस्पतालमा।
“दुवै विमान उडानकै क्रममा आकाशमा ठोक्किएर जमिनमा खसेको हुन सक्छ”,भिक्टोरिया पुलिसको विज्ञप्तिमा भनिएको छ,”दुईजनाको घटनास्थलमै ज्यान गएको छ।”
नागरिक उड्डयन सुरक्षा प्राधिकरणका प्रवक्ताले दुर्घटनामा परेको मध्ये एक विमान उडान स्कूल मुरब्बिन एविएसन सेवामा दर्ता गरिएको पाइपर सेमिनोल विमान रहेको बताएका छन्। दोस्रो विमान भने एक निजी मालिकमा नाममा दर्ता भएको बिच्क्राफ्ट ट्राभल एयर रहेको बताइएको छ।