“टाठाबाटाका लागि मात्र प्रजातन्त्र आएर भएन, जनताका लागि आउनुपर्यो” – पूर्वराजा शाह

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले “प्रजातन्त्र” शब्दमा भन्दा कर्ममा देखिनुपर्ने बताएका छन्। ७० औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।

प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र नभई जीव पद्धति र व्यवहारमा देखिनु पर्ने पूर्वराजा शाहको बुझाई छ। उनका अनुसार राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो।

“प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा हाेइन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन– त्यो जीव पद्धति र व्यवहारमा देखिनु पर्दछ। राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो।”,शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा सार्थक हुन नसकेको उल्लेख गर्दै उनले प्रजातन्त्र टाठाबाठाका लागि मात्र नभई सबै जनताको लागि हुनुपर्नेमा जोड दिएका छन्।

“प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ। हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं- नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।”,विज्ञप्तिमा लेखिएको छ ,”केही टाठाबाटाका निमित्तमा होइन, केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्दछ।”

यस्तै उनले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गर्न आह्वान पनि गरेका छन्। “हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ”,जारी सन्देशमा भनिएको छ।

प्रकाशित : , ०, ०१३:५०

जब राणा शासनको विरुद्ध क्रान्तिको बिगुल फुक्दै बागलुङमा जनसरकार घोषणा गरियो….