काठमाडौँ – झण्डै पाँच महिनाको कारागार बसाइपछि सोमबार घर फर्किएका पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद बैठक जान बाटो खुलेकाे छ।
जबर्जस्ती करणी उद्योग मुद्दामा कृष्णबहादुर महराले सफाइ पाएको भन्दै अदालतले पत्र पठाएसँगै संसद बैठक जान महरालाई बाटो खुलेकाे हो।
मंगलबार संसद सचिवालयलाई काठमाडौंं जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारीसहितको पत्र पठाएको छ।
एक महिला कर्मचारीलाई बला-त्कार प्रयासको अभियोगमा कारागारमा रहेका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि महरा सोमबार कारागार मुक्त भई घर फर्किएका थिए ।
सोमबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फैसला गरेको थियो । “घटनाको अनुसन्धानका क्रममा भएको बयान र अदालतमा गरिएको बयान तथा पीडितले गरेको वकपत्र अध्ययन गर्दा एवं घटना भएको दिन आफ्नो कोठामा प्रतिवादी आउँदै नआएको पीडितको स्पष्ट बयान सफाइ पाउने आधार भेटिएको भन्दै महरालाई अदालतले सफाइ दिएको थियो।
संसद् सचिवालयको एक महिला कर्मचारीलाई बला-त्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको आइतबार अन्तिम बहस शुरु भएको थियो । समय नभ्याएको हुनाले फैसला गर्न हेर्दाहेर्दैमा सोमबार फैसला भएको हो । महराविरुद्ध बला-त्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो तर अभियोग पुष्टि हुन सकेन ।