काठमाडौँ, फागुन ५ । नेपाली युवा दिवेश पोखरेल विश्वकै चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’ मा हलिउडको प्रस्तुतिका लागि सेलेक्ट भएका छन् । उनि शीर्ष २० स्थानमा पर्न सफल भएका छन् ।
काठमाडौँका पोखरेलले आइतबार राति दिएको प्रस्तुतिलाई अमेरिकन आइडलका जजहरुले प्रसंशा गरेका थिए । उनले विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि आफ्नो प्रस्तुति देखाएका थिए ।
अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो शृंखलाबाट छानिएका दिवेशको स्टेज नेम आर्थर गन हो । दिवेशले आर्थर गनको उपनामबाट स्टेजमा गाउँदै आएका छन् । दिवेशले आफ्नो परिचय दिदै गर्दा नेपालको सुन्दरतालाई पनि प्रस्तुत गरेका थिए । उनले नेपाल एकदमै सुन्दर ठाउ रहेको भन्दै सिंगो नेपालको प्रसंशा गरेका छन् । भिडियोमा बौद्ध मन्दिर तथा अन्य स्थानलाई देखाइएको छ ।
उनले आफ्नो प्रस्तुति दिन जजहरु सामु जादै गर्दा सबै-जनालाई नमस्ते गरेका थिए । र अमेरिकी गायिका केटी पेरीले दुई हात जोड्दै उनलाई नमस्ते फर्काएकी थिइन् ।
उनि ५ वर्षअघि अमेरिका पुगेका थिए। २० वर्षीय दिवेश हाल आफ्नो परिवारसहित क्यान्सस राज्यको विचिटामा बस्दै आइरहेका छन् ।