काठमाडौँ – कुवेतको एक निर्माणस्थलमा पुरिएर चार नेपालीको ज्यान गएको छ। कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा पुरिएर चार नेपालीको ज्यान गएको हो।
मजदुरहरु खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउँदा पहिरो गएको र सोहि क्रममा निर्माणस्थलमा रहेका मजदुरहरु पुरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।
उक्त निर्माणस्थलमा १३ नेपाली र एक भारतीय मजदुर काम गरिरहेको बताइएको भएता पनि कति कामदार थिए भन्ने बारे एकिन तथ्यांक भने बाहिरिसकेको छैन।
अरबटाइम्सका अनुसार उक्त दुर्घटनामा परी ३ जना हराइरहेका छन् भने ३ जना गम्भीर घाइते छन्। उक्त निर्माणस्थलमा कार्यरत मजदुरहरुको विस्तृत विवरण सार्वजनिक भइनसकेको अरबटाइम्सले जनाएको छ। अहिले वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ।
कुवेतकी आवास तथा निर्माण मन्त्री डाक्टर राना अल फारिस दुर्घटनालगतै दुर्घटनास्थल पुगेकी छन्। उनले दुर्घटना बारे तत्काल छानवीन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको बताइएको छ।