दिल्लीमा ३४ सीटमा विजय, २९ सीटमा अग्रतासँगै आम आदमीलाई वधाईको ओइरो !

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले यस पटक पनि विशाल जीत हासिल गर्ने पक्का देखिएको छ ।

साँझ ५ः३० बजेसम्मको मत गणनामा आपले कुल ७० सीटको विधान सभामा ३४ सीटमा जीत निकालेको छ भने २९ सीटमा अग्रता कायम गरेको छ ।

केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा यस पहिलेको तुलनामा जनमत जम्मा गरेको देखिएपनि निर्वाचनमा धेरै सीट विजय गर्न भने नसक्ने देखिएको छ । दिल्ली विधान सभामा भाजपाले साँझसम्म तीन सीटमा विजय निकालेको छ भने अन्य चार स्थानमा अग्रता कायम गरेको छ ।

दिल्ली विधान सभामा भारतीय कङ्ग्रेसले प्रारम्भिक मतगणनामा एक दुई स्थानमा अग्रता कायम गरे पनि दिन ढल्दै जाँदा उसलाई अन्य दलले पछाडि पारिदिएका छन् । कङ्ग्रेसले दिल्लीमा सन् २०१३ पूर्व लामो समयसम्म आफ्नो नेतृत्वमा सत्ता चलाएको थियो ।

आपले निर्वाचनमा दोहोराएर विशाल विजय निकाल्ने देखिएपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई वधाई सन्देशहरू आउन थालेको छन् ।

केजरीवाललाई वधाई दिँदै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “अरविन्द केजरीवाललाई धेरै धेरै वधाई ! अहिले भारतीय जनता रोटी,कपडा र वास (घर) चाहान्छन् । प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन ।”

त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि वधाई दिएका छन् । “अरविन्द केजरीवाल र आमदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतको लागि वधाई छ । यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस् ।”

द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भनेका छन्, “अरविन्द केजरीवाल र आम आदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत जनादेशको लागि बधाई छ । विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ । संघीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ ।”

समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने “दिल्ली चुनावको नतीजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन् । जनताले दिल्लीमा साम्प्रदायिक राजनीतिको बिरूद्ध मतदान गरे ।”

कडा सुरक्षाको बीचमा शहर भरिका २१ केन्द्रहरूमा मतगणना भैसकेको छ ।

प्रकाशित : , ०, ०१४:०६

कोरोना भाइरसको उपचारमा खटिएका १७०० स्वास्थ्यकर्मीमै संक्रमण !