नेपाल एयरलाइन्सका पाइलट चीन जान मानेनन्, चीन जाने एयरहोस्टेज पनि भेटिएनन् !

काठमाडौँ – सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक÷दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ ।

नागरिक उड्डयन मन्त्रालय र निगमले चीनको हुवेइमा रहेका नेपालीहरुलाई लिन विमान पठाउने बारे छलफल गरेता पनि विमानमा जाने पाइलट र एयरहोस्टेज भने भेट्न सकेको छैन।

एक श्रोतका अनुसार विमानमा जान प्रस्ताव गरिएका विमान चालकदलका सदस्यहरुले चीन जान अस्विकार गरेका छन्। चीन उडानका लागि प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन्।

चीन जाने जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी रहने गरी प्रस्ताव गरिएता पनि पाइलट र एयरहोस्टेजले चीन जान अस्विकार गरेको बताइएको छ।

कोरोनाको केन्द्रविन्दु वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।

सरकारले फाल्गुन ३ गते नेपालीहरुलाई लिन विमान चीन पठाउने गरी तयारी थालेको छ। चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ ।

प्रकाशित : , ०, ०११:१७

वैकल्पिकमा नाम निकालेका ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त