काठमाडौँ – राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका महासचिव मनिष सुमनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले मिचेको हो भन्न नसकिने तर्क गरेका छन्।
संविधानले समेत कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभाग बिनाको नक्सा स्वीकारिसकेको हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले मिचेको हो भन्न नमिल्ने उनको तर्क छ।
एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्ताको क्रममा उनले यस्तो तर्क गरेका हुन्। माइतीघर मण्डलामा कालापानी-लिपुलेक हाम्रो हो भन्दै प्रदर्शन गर्नेहरुको कुरालाई सुन्ने भन्दा पनि तथ्यमा आधारित हुनुपर्ने उनको भनाई छ।
“माइतीघर मण्डलामा कालापानी-लिपुलेक हाम्रो हो भन्दै केहि सन्कीहरुले गरेको प्रदर्शनलाई ध्यान दिनु हुँदैन, तथ्यलाई हेरिनुपर्छ”,कालापानी-लिपुलेक विवाद बारे उनले भने।
संविधान र संविधानसभाले स्वीकार गरेको नक्सा हेर्दा भारतले नेपालको भूमि मिचेको भन्न नसकिने उनले जिकिर गरे। माइतीघरमा प्रदर्शन गर्ने र राजदुतावास घेर्ने जस्ता कार्य तत्काल बन्द गरेर तथ्यमा रही वार्ता अगाडी बढाइनुपर्ने उनले बताए। भारतको विरोध गर्दैमा राष्ट्रवादी भइन्छ भन्ने मानसिकता माथि उठ्न पर्ने उनको बुझाई छ।
“भारतको विरोध गर्दैमा राष्ट्रवादी भइन्छ भन्ने मानसिकता माथि उठ्न जरुरि छ। राष्ट्रवादी हुन भारतको विरोध गर्ने भन्दा पनि देशलाई प्रेम गर्नुपर्छ।”,उनले भने।
यस्तै उनले भारतले प्रदेश नम्बर २ को कुनैपनि भूमी नमिचेको दाबी पनि गरे। भारतले प्रदेश २ को कुनै भूमि नामिचेको र त्यो कुरा मिडियामा समेत नआएको उनको जिकिर छ।
“प्रदेश नम्बर २ को कुनैपनि भूमी भारतले मिचेको कुरा हाम्रो ज्ञानमा छैन् । र, यो कुरा सञ्चारमाध्यममा पनि आएको छैन् ।”,उनले भने।