काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्दकालमा १७ हजारको ज्यान गएको पूरा जिम्मा नलिनेबताएका छन्।
बुधबार माघे संक्रान्तिको अवसरमा थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा द्वन्दकालमा १७ हजारको ज्यान गएको पूरा जिम्मेवारी आफूले नलिने बताएका हुन्।
१७ हजारको ज्यान लिएर आएको आरोप लाग्दै आएको उल्लेख गर्दै प्रचण्डले ५ हजारको मात्रै जिम्मा लिने उनले बताए। बाँकि १२ हजारको जिम्मा पहिलाका राजाहरूले लिनुपर्ने उनको भनाई छ।
“मलाई ताकेर धेरै कुरा राख्नुभएको छ। म १७ हजार मान्छे मारेर आएको सत्य होइन सत्य के हो भने १२ हजार मान्छे राज्यको तर्फबाट मारिएका हुन्”,उनले भने।
नगरेको गल्तिको आफूले जिम्मेवारी नलिने उनको भनाई छ। सशस्त्र युद्धताका भएका राम्रा/नराम्रा कुराको जिम्मा लिने भएपनि नगरेका कामको नलिने उनले स्पष्ट पारे।
“५ हजारको जिम्मा लिन्छु हिजोका राजाहरूले १२ हजारको जिम्मा लिनुपर्छ। राज्यले मारेको पनि मैले मारेको भन्ने हो भने न्याय हुँदैन।तर म नगरेका कामको जिम्मा लिन्नँ।”,उनले भने।