काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख चयन गर्न नेकपा असमर्थ रहे त्यो काम आफूहरुले गर्ने बताएका छन्।
बुधबार अपरान्ह विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले सभामुख चयन गर्न नेकपाले नसके आफूहरुले गर्ने बताएका हुन्।
एक पार्टी भित्र कुरा नमिलेको भरमा संसदलाई बन्धक बनाउन नमिल्ने उनको तर्क छ। नेकपाभित्रको विवादले सभामुख चयन प्रभावित हुन नहुने उनले धारणा राखे।
“नेकपालाई सभामुख चयन गर्न समस्या छ भने हामीलाई दिए हुन्छ, हामी चयन गर्छौं । नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन पाईँदैन् । सभामुखमा सहमति जुटाउन नसक्ने भए हामीलाई दिए हुन्छ । तर, अहिले नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ ।”,देउवाले भने।
यस्तै देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई संसदबाट अनुमोदन गरिनुपर्ने पनि बताएका छन्। आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको पनि उनले सुनाए।
“हाम्रो पार्टीले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको छ। नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको छ । यसलाई अनुमोदन गरेर जानुपर्छ ।”,उनले भने।