काठमाडौँ, पुष २८ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । केहि दिन देखि लगातार बढेको सुनको आइतबार तोलामा ५ सय रुपैयाले बढेको थियो । आज सोमबार भने सुनको मुल्य तोलामा २ सय रुपैयाले घटेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ७४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलामा ७५ हजार रुपैयामा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाले नै घटेको छ । आज तेजावी सुनको मूल्य तोलामा ७४ हजार ५ सय रुपैया कायम रहेको छ। आइतबार तेजावी सुनको मूल्य ७४ हजार ७ सय रुपैयामा कायम थियो ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा ८ सय ९० रुपैयामा कायम रहेको छ । पछिल्लो समय लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् । मध्यपूर्वको तनावले सुनकाे भाउ लगातार बढेकाे सुनचाँदी व्यवसायीले जनाएका छन् ।