फाइनलमा अपराजित जिदानको रियल म्याड्रिड : दुर्लभ सफलता हात पार्ने मौका !

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान आइतबार हुने स्पेनिस सुपर कपको फाइनलमा एटलेटिको म्याड्रिडको सामना गर्न निस्कँदा उनीसामू दुर्लभ सफलता हात पार्ने अवसर छ ।

जिदान रियलसँग रहेर प्रशिक्षकका रुपमा दशौं उपाधि जित्ने सुरमा छन् । हालसम्म फाइनलमा पराजय नभोगेका जिदानले रियलको भूमिकामा नवौं फाइनल खेल्दै छन् । उनले रियलसँग रहेर यसअघि ३ च्याम्पियन्स लिग, २ यूईएफए सुपर कप, २ क्लब विश्वकप, एक स्पेनिस सुपर कप र एक स्पेनिस ला लिगाको उपाधि जितेका छन् ।

रियलका लागि पहिलो पटक प्रशिक्षकको भूमिकामा रहँदा जिदानले १ सय ४९ खेलमा १ सय ५ जित, २८ बराबरी र १६ हार बेहोरेका थिए । दोस्रो चरणमा भने उनले त्यसै अनुरुप सफलता हासिल गर्न सकेका छैनन् । यद्यपि पछिल्लो समय सुधारिएको प्रदर्शन गर्दै रियलले नतिजा पनि निकालेको छ । आइतबार उपाधि जित्दै त्यसलाई सावित गर्ने जिदानको लक्ष्य हुनेछ ।

जिदानको नेतृत्वमा रियलले सन् २०१५/१६ को च्याम्पियन्स लिग फाइनलमा एटलेटिको म्याड्रिडलाई हराएको थियो । लगत्तै अर्को संस्करणमा युभेन्टसलाई हराउँदै उपाधि जितेको रियलले त्यसपछि लिभरपुललाई हराउँदै उपाधिमा ह्याट्रिक गर्यो ।

रियलले सन् २०१६ मा काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकप जित्यो । त्यसको अर्को सिजन ग्रेमिओलाई हराउँदै दोस्रो उपाधि पनि रियलले हात पार्यो । यूईएफए सुपरकपमा पनि रियलले सेभिल्ला र म्यानचेस्टर युनाइटेडलाई हराउँदै लगातार दुई उपाधि पक्का गर्यो ।

जिदानले बार्सिलोनालाई सन् २०१७ को स्पेनिस सुपर कपको फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । अब आइतबारको फाइनलमा एटलेटिकोलाई हराए जिदानले रियलसँग दशौं उपाधि त जित्छन् नै । सँगसँगै लगातार ९ फाइनल जित्ने सफलता पनि प्राप्त गर्नेछन् ।

प्रकाशित : , ०, ००७:२०

बार्सिलोनामा जाभीको फिर्ति ? : ‘बार्सिलोनाको प्रशिक्षक हुनु ठूलो सपना’