काठमाडौँ – प्रदेश नं. ३को नाम र राजधानीको टुंगो लागेको छ। आइतबार बिहान मतदान प्रक्रियाबाट प्रदेश नं. ३ को स्थायी राजधानी र नामको टुंगो लगाइएको हो।
प्रदेशसभामा सम्पन्न मतदानको क्रममा अधिकांश प्रदेशसभा सदस्यले हेटौडाको पक्षमा मतदान गरेसँगै स्थायी राजधानी हेटौडा कायम हुने भएको छ।
प्रदेश नं. ३को प्रदेशसभामा ११० सदस्य छन्। जस मध्ये आइतबार मतदानमा १०४ सदस्य सहभागी भए। राजधानी हेटौडा कायम गरियोस् भन्ने पक्षमा १०१ सदस्यले मतदान गरे भने विपक्ष(धुलिखेल राजधानी गरियोस्) ३ जना मात्रै सदस्यले मतदान गरे। यससँगै प्रदेश नं. ३ को स्थायी राजधानी हेटौडा कायम गराउने प्रस्ताव बहुमतले पारित भएको छ।
हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्दै नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गराएको प्रस्तावलाई प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ लगायतले पनि समर्थन गरेका थिए।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले एक भएर आफ्ना पार्टीका सदस्यहरुलाई हेटौडाको पक्षमा मतदान गर्न ‘ह्वीप’ नै जारी गरेको थियो।
यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने प्रस्ताव विवेकशील साझा दलका नेता रमेश पौडेलले दर्ता गराएका थिए ।