काठमाडौँ – स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र सरकारका प्रवक्ता गोकुल वास्कोटाले थप जिम्मेवारी पाएका छन्। शुक्रबार देखि वास्कोटा र ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार क्रमश ढकाल र वास्कोटालाई दिइएको हो।
समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै दुवै मन्त्रालय प्रधानमन्त्री मातहतमा थियो। समाजवादी पार्टीका उपेन्द्र यदाव र मोहमद इस्तियाक राइले राजिनामा दिएपछि दुबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए।
राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सहरी विकास मन्त्री र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्। राष्ट्रपतिको कार्यलयले यस बारे शुक्रबार एक सूचना जारी गर्दै जानकारी गराएको छ।
“आज मिति २०७६ साल पुस २५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधामन्त्रीज्यू स्वयंले सम्हाली आउनुभएकोमा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्ने गरी र सहरी विकास मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्हाल्ने गरी तोक्नु भएको छ ।”,जारी विज्ञप्तिमा भनिएको छ।