काठमाडौँ, पुष २५ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य ह्वातै घटेको छ । केहि दिन देखि लगातार बढेको सुनको मुल्य बिहिबार (हिजो) तोलामा १ हजार रुपैयाले घटेको थियो । आज शुक्रबार पनि सुनको मुल्य तोलामा एक्कासी ९ सय रुपैयाले घटेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ७४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा ७५ हजार ५ सय रुपैयामा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाले नै घटेको छ । आज तेजावी सुनको मूल्य तोलामा ७४ हजार ३ सय रुपैया कायम रहेको छ। बिहिबार तेजावी सुनको मूल्य ७५ हजार २ सय रुपैयामा कायम थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले घटेको छ। आज चाँदीको मुल्य तोलामा ८ सय ८५ रुपैयामा कायम रहेको छ ।
पछिल्लो समय लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् । मध्यपूर्वको तनावले सुनकाे भाउ लगातार बढेकाे सुनचाँदी व्यवसायीले जनाएका छन्।