ह्वातै घट्यो प्याजको भाउ, चिनियाँ प्याज झनै सस्तो ! [मूल्य सहित]

काठमाडौँ – प्रति किलोग्राम २ सय ५० सम्म पुगेको प्याजको मूल्य क्रमिक रुपमा घट्दै गएको छ। भारतबाट प्याज नेपाल भित्रिन थालेपछि प्याजको मूल्य घट्न थालेको हो।

कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार बिहिबार भारतीय प्याज थोक बजारमा प्रतिकेजी १ सय १५ रुपैयाँमा कारोबार भएको छ। यस्तै खुद्रा बजारमा प्रतिकेजी १ सय ३० रुपैयाँमा बिक्रि भएको छ।

यता चिनियाँ प्याजको पनि मूल्य घटेको छ। भारतबाट प्याज आउन छाडेपछि नेपालमा राम्रो बजार पाएको चिनियाँ प्याज बिहिबार प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भयो।

भारतीय बजारमा नयाँ प्याज आएको कारणले भारतमा प्याजको मूल्य घटेको छ। भारतको सबै भन्दा धेरै प्याज उत्पादन हुने स्थानमा नासिक, गुजरात तथा राजस्थान पर्छन्। ती स्थानमा उत्पादन भएको नयाँ प्याजले अहिले भारतमा प्याजको अभावलाई टारेको छ। अहिले भारतीय बजारमा प्याजको मूल्य ७० भारु छ।

भारतले प्याज निर्यातमा गरेको प्रतिबन्ध फुकुवा नभएपनि पहिलाभन्दा सहज तरिकाले प्याज नेपाल भित्रिरहेको अवस्था छ। जसको असर नेपालमा पनि परेको हो। प्याजको मूल्य अझ घट्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित : , ०, ०११:३८

नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन