ऐतिहासिक व्यक्तित्व नीलप्रसाद भण्डारीको निधन!

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पालाई सामुदायिक वनको उद्गमस्थलका रूपमा विश्वमा परिचित गराउने ऐतिहासिक व्यक्तित्व तथा सामुदायिक वनका अभियानकर्मी नीलप्रसाद भण्डारीको ८२ वर्षको उमेरमा आज बिहान कोटेश्वरस्थित निवासमा निधन भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।

दुई वर्षदेखि प्रोष्ट्रेट ग्ल्यान्ड्स र फोक्सोको क्या’न्सरबाट पीडित स्वर्गीय भण्डारीका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । विसं २०१७ सालबाट राजनीतिमा होमिनु भएका भण्डारीले तत्कालीन ठोकर्पा गाविसका प्रधानपञ्चको हैसियतले समुदायको सहभागिताले मात्र वन जङ्गलको संरक्षण सम्भव हुने मान्यता राखी नाङ्गा वन पाखामा वन जोगाउने अठोट गर्नुभएको थियो । सोही अठोट अनुरूप २०२९/३० सालमा गाँउदेखि चौताराको पात्लेपानी वन नर्सरीबाट आतेजाते १४ कोस पैदल बाटो हिँडेर गाउँलेहरुले डोकोमा बिरुवा बोकेर वृक्षरोपण गरेका थिए । आफूले रोपेको बिरुवा आफैँले हुर्काउने जिम्मा दिएपछि तीन घण्टा टाढाबाट गाग्री र टिनमा बोकेर ल्याएको पानी हालेर गाउँलेले फागुन चैतको सुक्खा मौसममा पनि बिरुवा हुर्काएका थिए ।

यसरी ठोकर्पा (हाल सुनकोशी गाउँपालिका–१) लाई सामुदायिक वनको उद्गमस्थलको रूपमा परिचित गराएबापत जनस्तरमा स्वर्गीय भण्डारी र कर्मचारीस्तरबाट तत्कालीन सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत डा तेजबहादुर सिंह महतलाई नेपाल सरकारले अभियानकर्मी घोषणा गरेको थियो ।

विसं २०३० साउन २५ गते बाट विधिवत्रूपमा शुरुआत गरेबापत २०७३ सालदेखि प्रत्येक वर्षको साउन २५ गते लाई सामुदायिक वन दिवस मनाउने निर्णय गरिएको हो । नेपाल सरकारबाट ठोकर्पामा सामुदायिक वन अन्तर्राष्ट्रिय स्तरको अध्ययन केन्द्र खोल्ने निर्णय गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ ।

प्रकाशित : , ०, ००७:४१

४४ वर्षपछि सीमा विवाद समाधान!