–जमुनावर्षा शर्मा
पोखरादेखि करिब २५ किलोमिटरको दूरीमा रहेको रुपा गाउँपालिकाले विकास र समृद्धिको नारालाई सार्थक पार्न नवीनतम् योजनाहरु अघि सार्दै आइरहेको छ ।
पर्यटकीय दृष्टिकोणबाट निकै आकर्षक मानिने यस गाउँपालिकाले पछिल्लो पटक ३२ डाँडा (थुम्का)लाई जोडेर अन्तरराष्ट्रियस्तरको बहुउद्देश्यीय ट्र्याक बनाउने योजना अघि सारेको हो । उक्त योजनालाई मूर्त रुप दिन अहिले डीपीआर तयार गरिरहेको रुपा गाउँपालिाकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।
“एउटा बृहत् योजनालाई साकार पार्ने गृहकार्यमा लागेका छाँै । सबैको सकारात्मक सुझाव र साथ मिलिरहेको छ”, उहाँले भन्नुभयो, “रुपा गाउँपालिका आफैँमा एक पर्यटकीय गन्तव्य हो । यसको प्राकृतिक सौन्दर्यलाई जोगाएर थप आकर्षक बनाउन हामी लागेका छौँ ।”
गाउँपालिकामा रहेका ३२ थुम्कालाई सडक सञ्जालबाट जोडेर एक महिना पर्यटकलाई भुलाउने गरी अन्तरराष्ट्रियस्तरको बहुउद्देश्यीय ट्र्याक बनाउन लागिएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओझाका अनुसार प्रत्येक थुम्कामा विभिन्न जातजातिको पहिचान झल्कने गरी सङ्ग्रहालय बनाइने छ भने स–साना कटेजदेखि सेमिनार हलसमेत बनाइनेछ ।
त्यसैगरी सार्क मुलुक र विश्वकै प्रख्यात व्यक्तित्वहरुको सालिक र जीवनीलाई समेत त्यहाँ राखेर बाहिरी मुलुकका पर्यटकलाई आकर्षण गरिनेछ । उहाँले भन्नुभयो, “कवि एवं साहित्यकारले शान्त वातावरणमा सृजना गर्न सक्नेछन्, आनन्द र ध्यान चाहनेहरुले योग साधना गर्न सक्नेछन्, आफ्नो जातजातिको रहनसहन, संस्कृति बुझ्न चाहनेहरुले सोको अध्ययनसमेत गर्न पाउनेछन् ।”
हाल उक्त योजनाको डीपीआर तयार भइरहेको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले १० लाख रकम उपलब्ध गराएसँगै अघि बढेको यस कार्यलाई मूर्तरुप दिन सरोकारवाला एवं विज्ञहरुसँग छलफल जारी रहेको अध्यक्ष ओझाले बताउनुभयो ।
यस बहुउद्देश्यीय ट्र्याकका लागि पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समेत निकै चासो दिनुभएको छ । प्रकृतिको अनुपम वरदान पाएको यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाएर अन्तरराष्ट्रियस्तरमा पु¥याउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै आफू लागिपरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “रुपा गाउँपालिका चाल्र्स रुटले पनि अन्तरराष्ट्रियजगत्मा चिनिन्छ, बेलायतका राजकुमार चाल्र्स यही बाटो भएर सुन्दर अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको अवलोकन गरेका थिए । सातताल रुपा, वेगनास, न्युरेनी, दिपाङ, खास्टे, मैदी, गुँदे, तालको अवलोकनसमेत यहाँबाट गर्न सकिन्छ । यसको प्रवद्र्धन गरेर अन्तरराष्ट्रिय रुपमा चिनाउन यो योजना सफल हुनेछ ।”
उहाँले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रममार्फत यस क्षेत्रको सडक सञ्जालका लागि गत वर्ष र यस वर्ष गरी दुई करोड रकम छुट््याएको जानकारी दिनुभयो । “पक्की बाटो, टे«किङ रुटको स्तरोन्नति भइरहेको छ, यसका साथै रुपा तालमाथि झोलुङे पुल वा सिसाको पुल के बनाउने भन्ने पनि विज्ञहरुसँग छलफल भइरहेको छ ।” सांसद अधिकारीले भन्नुभयो, “रुपा र मादी गाउँपालिकाबीच समन्वय गरेर यस क्षेत्रको थप विकास गर्न सकिन्छ ।”
त्यसैगरी गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पनि यस योजनालाई मूर्त रुप दिन आफूले लागिपरेको बताउनुभयो । “३२ थुम्कालाई जोडेर जुन योजना अघि सारिएको छ, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई निकै लोभ्याउने छ, प्रकृतिले सबै दिएको छ, यसलाई हामीले केही व्यवस्थित गर्न सक्यौँ भने मात्र पनि पुग्नेछ ।”
उहाँले यसलाई प्रकृतिसँगै संस्कृतिलाई जोडेर अन्तरराष्ट्रिय रुपमा पु¥याउन सकिने बताउनुभयो । यो बृहत् योजना भएकाले सरोकारवाला एवं विज्ञहरुसँग निरन्तर छलफल भइरहेको उहाँको भनाइ छ ।
रुपा गाउँपालिका ‘रोयल ट्रेक’ले पनि प्रसिद्ध छ । बेलायतका राजकुमार चाल्र्स र नेपालका राजकुमार दीपेन्द्रले समेत पदयात्रा गरेका पदमार्गको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्ने अर्को योजना पनि शुभारम्भ गरेको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी स्थानीय श्रमलाई आर्थिक रुपान्तरणमा समेत जोड दिँदै आएको छ । केही समयअघि बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद पनि रुपा गाउँपालिकमा अवस्थित रुपाकोट रिसोर्ट पुगेर हिमशृङ्खला र तालहरुको दृश्यावलोकन गर्नुभएको थियो । ‘एक गाउँ एक उत्पादन’ भन्दै पकेट क्षेत्र बनाएर कामसमेत गरिरहेको रुपा गाउँपालिकाले आफ्नो क्षेत्रमा आउने पाहुनालाई उपहारस्वरुप स्थानीय उत्पादन नै दिने नीति बनाएर त्यसलाई अवलम्बन गर्दै आएको छ ।