काठमाडौँ – धेरै समय देखि नेपालमा रेल सेवा विस्तार बारे चर्चा चल्दै आएको छ। नेपालका विभिन्न क्षेत्रमा रेलको लागि भौतिक संरचना निर्माण भैसक्दा पनि रेल संचालन सम्बन्धि ऐन-कानुन निर्माण नभएको भन्दै सरकारको आलोचना हुने गरेको छ।
यसै बीच सरकार रेल्वे ऐन निर्माणमा जुटेको छ। शुक्रबार सरकारले राष्ट्रिय सभामा रेल्वे विधेयक सभामा दर्ता गरेको छ। जसमा रेल चालक देखि रेल संचालन सम्बन्धि सम्पूर्ण व्यवस्थाहरुलाई समावेश गरिएको छ।
सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विधेयकमा रेल चालकले कम्तिमा माध्यमिक तह ( दश जोड दुई) पास गरेको र पाँच वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्ने व्यवस्था छ।
यस्तै रेल चालक हुन कम्तिमा २५ र रेल सहचालक हुन २० वर्ष पुग्नुपर्ने व्यवस्थामा पनि विधेयकमा छ। ५० वर्ष पुगिसकेका व्यक्तिहरु दुवै पदका लागि अयोग्य हुने पनि व्यवस्थामा गरिएको छ।
सरकारले प्रस्ताव गरेअनुसार रेल चालक हुनका लागि रेल्वे बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र गर्नुपर्ने हुन्छ।
रेल्वे सञ्चालन गर्न उपयुक्त भए वा नभएको समय-समयमा आवश्यक जाँचबुझ गराउने देखि यात्रीको भाडा र यात्रीका मालसामान ढुवानी तथा विलम्ब शुल्क तोक्ने सम्मको जिम्मेवारी रेल्वे बोर्डलाई दिने व्यवस्था पनि विधेयकमा छ।