ब्राजिलियन १८ वर्षीय युवा फरवार्ड रोड्रीगोको ह्याट्रिकमा रियलको शानदार जित

एजेन्सी – ब्राजिलका १८ वर्षीय युवा फरवार्ड रोड्रीगोले ह्याट्रिक पूरा गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा रियल म्याड्रिडले गालाटासरेलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियलका लागि बेन्जेमाले २ र रामोसले १ गोल थपे ।

खेलको चौथो मिनेटमा नै रोड्रीगोले रियल्ली अग्रता दिलाएका थिए । लेफ्ट ब्याक मार्सेलो दिएको क्रसलाई रोड्रीगोले उत्कृष्ट प्रहार गर्दै विपक्षी गोलरक्षक फर्नान्डो मुस्लेरालाई बचाउने अवसर नै दिएनन् । सुरुवाती अग्रता लिएको तीन मिनेट नबित्दै रियलले अग्रता दोब्बर पार्यो । फेरिपनि मार्सेलो र रोड्रीगोकै जोडी मिल्दा युवा फरवार्डले खेलको व्यक्तिगत दोस्रो गोल गरे । यसपटक भने रोड्रीगोले मर्सेलोको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा नै रियलले ३-० को अग्रता लिने अवसर पायो । मिडफिल्डर स्टिभन एनजोन्जीले टोनी क्रुसलाई पेनाल्टी क्षेत्रको ठिक भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै पेनाल्टी दिए । कप्तान सर्जियो रामोसले पेनाल्टीको जिम्मेवारी लिँदै पनेन्का प्रहारमा गोल गर्न सफल रहे ।

रियललाई पहिलो हाफको अन्त्यतिर भने समस्या आइपर्यो । उत्कृष्ट प्रदर्शन गरिरहेका डिफेन्डर मार्सेलो घाइते हुँदै बाहिरीए । उनको ठाउँमा फर्लान्ड मेन्डी मैदान प्रवेश गरे । यद्यपी पहिलो हाफको अन्तिम मिनेटमा रियलले ४-० को अग्रता भने बनायो । गालाटासरेका डिफेन्डर युटो नागाटोमोले खेलेको गलत पास रोड्रीगोले पाएपछि युवा ब्राजिलियनले तुरुन्तै बेन्जेमालाई पास खेले । बेन्जेमाले सहजै गोल गर्दै रियललाई फराकिलो अग्रता दिलाए ।

दोस्रो हाफमा रियलले आफ्नो दबाब कायम नै राख्यो । ८१ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे । ड्यानी कार्भाजलको क्रसमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता ५-० पुर्याए । खेलको इन्ज्युरी समयमा रोड्रीगोले आफ्नो ह्याट्रिक पूरा गरे । उनले बेन्जेमासँग १-२ पास खेल्दै गरेको प्रहारलाई मुस्लेराले रोक्न सकेनन् र पहिलो ह्याट्रिक पक्का भएको थियो ।

रोड्रीगोले रियलका लागि यसक्रममा नयाँ कीर्तिमान पनि कायम गरेका छन् । रियलको इतिहासमा कुनैपनि खेलाडीले ३ मिनेटको अन्तरमा लगातार दुई गोल गरेका थिएनन् । रोड्रीगोले खेलको चौथो र सातौं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

यससँगै रियलले च्याम्पियन्स लिगमा गरेको खराब सुरुवातलाई बिर्साउन सफल भएको छ । सुरुवाती दुई खेलमा १ अंक मात्र जोड्दै पुछारमा रहेको रियल अहिले दोस्रो स्थानमा छ । ४ खेलमा ७ अंक जोडेको रियलले तेस्रो स्थानको टोलीसँग ५ अंकको अग्रता लिएको छ । शीर्षस्थानमा रहेको पीएसजीको ४ खेलमा १२ अंक रहेको छ ।

पीएसजीले बुधबार भएको खेलमा क्लब ब्रुजालाई १-० ले पराजित गर्दै शत प्रतिशत जितको यात्रा कायम राखेको थियो । टोलीको जितमा एकमात्र गोल अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले गरे । उनले खेलको २२ औं मिनेटमा कोलिन डाग्बाको पासलाई सदुपयोग गरेका थिए । खेलको ७६ औं मिनेटमा ब्रुजाका एमवाय डियाग्नेले पेनाल्टीमा गोल गर्न नसक्दा ब्रुजा खेल बराबरी गर्नबाट चुकेको थियो ।

अब च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को अर्को खेलमा शीर्ष दुई र पुछारका दुई टोली भिड्नेछन् । गालाटासरे र ब्रुजा तथा रियल र पीएसजीबीच खेल हुनेछ । रियलले पीएसजीलाई उक्त खेलमा पराजित गरे दुवै टोलीको नकआउट चरण यात्रा पक्का हुनेछ । पीएसजी भने अर्को चरणमा प्रवेश गरिसकेको छ ।

प्रकाशित : , ०, ००२:१७

अनन्तको गोलमा नेपालको जित, फाइनलमा प्रवेश !