काठमाडौँ – नेपाल-भारत बीच खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना रहेकोमा प्राकृतिक सिमाना बाहेक सीमास्तम्भले सिमाना छुट्याउने गरिएको छ।
विभिन्न समयमा भारत-नेपाल सिमा क्षेत्रमा भारतीय पक्षबाट सिमा अतिक्रमण हुँदै आएको छ। भारतीय पक्षले सीमास्तम्भहरू तोड्ने-फोड्ने-भत्काउने देखि सीमास्तम्भहरू पर सार्ने समेत गर्दै आएको छ।
भारत र नेपाल बीच सिमाना विवाद रहेका क्षेत्र मध्ये कालापानी-लिपुलेक पनि पर्छ। तात्कालीन ब्रिटीश इण्डिया र नेपालबीच दुई सय वर्षअघि भएको सुगौली सन्धिको कारण कालापानी-लिपुलेकमा विवाद रहँदै आएको हो।
हालसालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा कालापानी-लिपुलेकलाई समावेश गरेको पाइएको छ। संवैधानिक अधिकारिकको खारेज सँगै काश्मिर-लद्दाखलाई पूर्ण अधिनमा लिएको भारतले आफ्नो नयाँ नक्सामा कालापानी-लिपुलेकलाई पनि समावेश गरेको पाइएको हो।
भारतले आफ्नो नक्सामा कालापानी-लिपुलेकलाई समावेश गर्नुलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले कडा शब्दमा भर्त्सना गरेका छन्।
सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै फणीन्द्रले नयाँ नक्सामा अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालको लिम्पियाधुरालाई भारततर्फ देखाइएको प्रति नेपाल सरकार मौन रहेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
भारतले नक्सा सार्वजनिक गर्दा नेपालले भर्त्सना गर्नैपर्ने ज्यादती गरेको पाइएको उनको भनाई छ। पाकिस्तान नियन्त्रित कश्मीरलाई भारतको नयाँ राजनीतिक नक्सामा समावेश गरिएको प्रति विज्ञप्ति निकाल्दै पाकिस्तानले यो नक्सा ठाडै खारेज गर्छ भनेको अवस्थामा नेपाल सरकार चुप बस्नु ठिक नभएको उनको बुझाई छ।
फणीन्द्रले भारतको यस कदमलाई साँढेपनको संज्ञा पनि दिएका छन्। काली नदी पूर्वको सबै जमिन नेपालको रहेको भएपनि भारतले आफ्नो नक्सामा उक्त जमिन समावेश गरेको पनि उनले जानकारी दिए।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सुगौली सन्धि अवैध भएको र नेपालको ठूलो भूभागमा भारतीय उपनिवेश कायम रहँदै आएको प्रति आपत्ति जनाउँदै आएका छन्।
उनले विभिन्न अन्तराष्ट्रिय “फोरम”मा पुगेर सुगौली सन्धिको खारेजी गर्नुपर्ने माग गर्दै आएका छन्।
यो पनि पढ्नुहोस् !