काठमाडौँ – निर्वतमान सभामुख कृष्णबहादुर महरा अझै हिरासतमा रहने भएका छन्। शुक्रबार देखि शुरु भएको थुनछेक बहस आइतबार पनि नसकिएपछि महरा हिरासतमै रहने भएका छन्।
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा शुरु भएको थुुनछेक बहसमा महराको तर्फबाट लव मैनाली र भोजप्रसाद आचार्यले बहस गरेका थिए।
सोमबार पनि थुुनछेक बहस चल्ने र महरालाई लागेको अभियोगमाथि पक्षका वकिलहरुले प्रतिरक्षा बहस गर्ने बताइएको छ। बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुनेछ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।
संसद् सचिवालयका एक महिला कर्मचारीलाई करणीको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ ।