काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकारको नेतृत्व फेरिने बताएका छन् ।
सोमबार नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ५ वर्ष रहने हो कि होइन भन्ने प्रश्नमा ५ वर्ष नेकपाको सरकार रहने तर नेतृत्व परिवर्तन हुने बताएका हुन् ।
प्रचण्डले ओली नेतृत्वको सरकार नै ५ वर्ष रहन्छ नभनी नेकपाको रहन्छ भनेर आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने धारणा व्यक्त गरेका हुन् ।
आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म सरकार परिवर्तन हुने सपना नदेख्न चुनौती दिएका थिए ।
आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउने सपना नदेख्न चुनौती दिँदै प्रधानमन्त्री ओलीले केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले निर्वाचन गरी सुम्पिएको जिम्मेवारीबाट सरकार नभाग्ने धराणा व्यक्त गरेका हुन् ।
उक्त कार्यक्रममा अध्यक्ष दाहालले सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको जिकिर गरे ।