काठमाडौँ : नगरकोटमा संचालित साना तथा मझौला व्यवसायी समूहले सोमबार व्यवसाय बन्द गरेका छन् ।
आइतबार चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा व्यवसायीले टायर बालेर सडक अवरुद्ध पारेका हुन् ।
नगरपालिकाले साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर, टहरा भत्काएको भन्दै आजदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेको सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङले जानकारी दिए ।
उनका अनुसार नगरकोटमा संचालित ठूला होटेल र व्यवसायीले अवैधरुपमा सञ्चालित होटल तथा रेष्टुरेन्टले जग्गाको भाडा तिर्नु नपर्ने, व्यवसाय दर्ता पनि गर्नु नपर्ने र सरकारलाई राजस्व पनि तिर्नु नपर्ने भन्दै साना टहरा हटाउन माग गरेपछि आइतबार सुरक्षाकर्मी परिचालन गरि अवैध घर, टहरा भत्काइएको थियो ।
साना व्यवसायीले सडकमा टायर बालेर सडक समेत अवरुद्ध पारेपछि सो क्षेत्रमा निजि तथा सार्वजनिक कुनैपनि यातायातका साधन संचलनमा आउन सकेका छैन ।