काठमाडौँ : सत्तारुढ नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि हातपात गर्ने पूर्वयुवराज पारस शाहीमाथि कारबाही गर्न माग गरेका छन् ।
थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी आमा कोमल सहित छोराछोरीलाई बिदाइ गर्न पुगेका पारसले प्रहरीका नायब निरीक्षक (सई) माथि दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि नेकपा नेता बस्नेतले लोकतन्त्रमा कसैको दादागिरी नचल्ने भन्दै तुरुन्त गिरफ्तार गरी कारबाही गर्नुपर्ने बताएका हुन् ।
पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि नेता बस्नेतले सामाजिक संजालमार्फत सो कुरा बताएका हुन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् ; ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मुक्का हान्ने पारस शाहलाई तुरुन्त गिरफ्तार गरी कारबाही गरियोस् । विगतमा प्रवीण गुरुङको हत्या , लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायतका सयौं आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन । यो लोकतन्त्र हो’ ।