काठमाडौँ : पत्रकार शालिकराम पुडासैनीले ज्यान फलेको विषयलाई लिएर प्रहरीविरुद्ध लेखेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पत्रकार पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि लामिछानेबारे काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौच गरेको आरोपमा रिदम विसी भनिने शंकर विकलाई प्रहरीले अछामको मंगलसेनबाट पक्राउ गरेको हो ।
आफूलाई गायक बताउने शंकरले फेसबुकमा “रवि लामिछाने दाइ लाई फसाउने यो नै हो भ्रस्टचारी घुसखोरी दलाल चोर साले #रिप” लेखेको र उक्त पोष्ट ५०० भन्दा बढीले शेयर गरेपछि जानकारी पाएको प्रहरीले जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
पत्रकार पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोग लागेर पक्राउ परेका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई गत साउन ३० गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।